एजेन्सी– रुसले युक्रेनको राजधानी किएभ र आसपासका क्षेत्रमा बिहीबार रातभर गरेको क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । आक्रमणमा २३ जना घाइते भएका छन् ।
युक्रेनको राज्य आपत्कालीन सेवा (डीएसएनएस) ले बिहीबार ठूलो स्तरमा गरिएको आक्रमणमा भवनहरू र गोदामहरूलाई निसाना बनाइएको जनाएको छ ।
भत्किएका भवनका भग्नावशेषमुनि फसेका मानिसको उद्धारका लागि अधिकारीहरू उद्धार अभियानमा जुटेका छन् । उद्धार टोलीले भग्नावशेषबाट एक जनालाई जीवितै बाहिर निकालिसकेको बीबीसीले उल्लेख गरेकाे छ ।
किएभका मेयर विताली क्लित्स्कोले रातभर भएको आक्रमणमा एउटा बाल अस्पतालसमेत क्षतिग्रस्त भएको बताएका छन् । अस्पतालका झ्यालहरू फुटेका छन् भने नजिकैका केही कारमा आगो लगेको छ ।
मेयरका अनुसार किएभको दक्षिण–पश्चिममा पर्ने सोलोमियान्स्की जिल्लास्थित औद्योगिक केन्द्रमा पनि क्षेप्यास्त्र प्रहार गरिएको थियो ।
यता, किएभ क्षेत्रको ब्रोभरी जिल्लामा भएको आक्रमणमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । क्षेत्रीय गभर्नर तिमुर तकाचेन्कोले यसको जानकारी दिएका छन् ।
क्षेत्रीय प्रशासनले राति नै मानिसहरूलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरेको थियो । प्रशासनले उक्त क्षेत्रमा हवाई सुरक्षा अभियान सञ्चालन हुन सक्ने जनाएको थियो ।
रातभर क्षेत्रीय अधिकारीहरूले क्षेप्यास्त्र आक्रमणको सम्भावनालाई लिएर लगातार नयाँ सतर्कता सूचना जारी गरिरहेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।