अबुधाबी– संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानतर्फबाट क्षेप्यास्त्र आक्रमण भएको आरोप लगाउँदै तेहरानसँगको सबै व्यापारिक तथा वित्तीय कारोबार रोक्ने घोषणा गरेको छ।
पछिल्ला केही महिनादेखि तुलनात्मक रूपमा शान्त रहेको यूएईमा पुनः सुरक्षा तनाव बढेपछि अबुधाबीले इरानविरुद्ध यस्तो कदम चालेको हो।
यूएईको विदेश मन्त्रालयकी सञ्चार निर्देशक अफ्रा अल हमेलीले क्षेत्रीय तनाव बढेको भन्दै इरानसँगको सबै व्यापार, व्यापारिक आदानप्रदान तथा वित्तीय कारोबार स्थगित गरिएको बताएका छन्।
अबुधाबीले पछिल्ला केही सातामा इरानले हर्मुज जलमार्गमा आफ्ना ट्यांकरहरूलाई पटक–पटक निसाना बनाएको आरोप लगाउँदै आएको छ। यूएईको पछिल्लो निर्णय दुई मुलुकबीचको लामो समयदेखिको व्यापारिक तथा सामाजिक सम्बन्धका बीच आएको हो। यूएईमा ठूलो इरानी समुदायको बसोबास छ र युद्धअघि अमेरिकी प्रतिबन्धमा रहेको इरानका लागि यूएई प्रमुख व्यापारिक साझेदारमध्ये एक थियो। समुद्री तटीय समुदाय, व्यापारिक मार्ग र पारिवारिक सम्बन्धका कारण दुई देशबीच शताब्दीयौं पुरानो सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धसमेत रहँदै आएको छ।
मंगलबारको घोषणा इरानविरुद्ध यूएईले चालेको पछिल्लो कदम हो। द्वन्द्व सुरु भएपछि यूएईले आफ्ना राजदूत फिर्ता बोलाउनुका साथै इरानसँग सम्बन्धित केही विद्यालय र अस्पताल बन्द गरेको थियो। मार्चमा युद्ध चर्किएका बेला दुबईस्थित इरानी राज्यसँग सम्बन्धित अस्पताल बन्द गर्न अधिकारीहरूले आदेश दिएका थिए।
विद्यालय तथा सामुदायिक केन्द्र पनि बन्द गरिएका थिए। त्यसबेला यूएईका एक अधिकारीले इरानी सरकार र इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी) सँग प्रत्यक्ष सम्बन्ध भएका तथा यूएईको कानुन उल्लंघन गरेको पाइएका केही संस्थालाई लक्षित उपायअन्तर्गत बन्द गरिएको बताएका थिए।
यसैबीच, अबुधाबीले मंगलबार इरानले यूएईतर्फ दुई वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको आरोप लगाएको छ। यूएईले ती क्षेप्यास्त्र समुद्री क्षेत्रमा रहेका जहाज वा समुद्री नेभिगेसनलाई लक्षित गरिएको जनाएको थियो। तर तेहरानले यूएईतर्फ क्षेप्यास्त्र प्रहार गरेको आरोप अस्वीकार गरेको छ।
यूएईको हवाई सुरक्षा प्रणालीले इरानबाट दुई वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिएकामा एउटा आफ्नो क्षेत्रीय जलक्षेत्रबाहिर तथा अर्को क्षेत्रीय जलक्षेत्रभित्र खसेको यूएई मन्त्रालयले सामाजिक सञ्जालमार्फत जनाएको छ। त्यसपछि जारी अर्को विज्ञप्तिमा क्षेप्यास्त्र समुद्री नेभिगेसनलाई लक्षित गर्दै समुद्रमा खसेको उल्लेख गरिएको थियो।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले यूएईले इरानमाथि लगाएको क्षेप्यास्त्र प्रहारको आरोपलाई स्पष्ट रूपमा अस्वीकार गरे। उनले यस्तो दाबीले क्षेत्रीय विश्वास र सुरक्षा कायम गर्ने प्रयासमा नकारात्मक असर पार्ने बताए। यूएईको पहिलो आधिकारिक बयान आउनुभन्दा करिब दुई घण्टाअघि त्यहाँका बासिन्दालाई मोबाइल फोनमार्फत ‘सम्भावित क्षेप्यास्त्र खतरा’ बारे चेतावनी दिइएको थियो। जुनमा जारी भएको गलत चेतावनी र जुलाईमा आक्रमणको सम्भावनासम्बन्धी सूचनापछि यो पहिलो यस्तो चेतावनी थियो। यद्यपि त्यस पटक क्षेप्यास्त्र यूएईको भूभागमा प्रवेश गरेको थिएन। त्यसअघि पछिल्लो क्षेप्यास्त्र चेतावनी मेको सुरुआतमा जारी गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।