काठमाडौं– भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठको चारदिने नेपाल भ्रमण सम्पन्न भएको छ। प्रधान सेनापति महारथी अशोक राज सिग्देलको औपचारिक निमन्त्रणामा नेपाल आएका जनरल सेठ बुधबार स्वदेश फर्किएका हुन्।
जनरल सेठ र उनकी श्रीमती कोमल सेठलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका बलाधिकृत रथी प्रदिप जंग केसी तथा उनकी धर्मपत्नीले बिदाइ गरेका थिए।
नेपाल भ्रमणका क्रममा जनरल सेठलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गरेका थिए। त्यस अवसरमा नेपाली सेना र भारतीय सेनाबीच रहँदै आएको परम्परागत सम्बन्धलाई थप मजबुत बनाउने विषयमा समेत जोड दिइएको थियो।
भ्रमणका क्रममा जनरल सेठले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री तथा रक्षामन्त्री र प्रधान सेनापति अशोक राज सिग्देलसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेका थिए।
नेपाली सेनाका अनुसार जनरल सेठको भ्रमणले नेपाल र भारतबीच रहँदै आएको सौहार्दपूर्ण सैनिक सम्बन्धलाई थप सुमधुर, प्रगाढ र मजबुत बनाउन महत्वपूर्ण योगदान पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।