काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३९ किलो २८८ ग्राम थाई गाँजासहित आठ विदेशी नागरिक पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्युरोको विमानस्थल शाखाबाट खटिएको प्रहरी टोलीले साउन ३२ गते राति दुई छुट्टाछुट्टै उडानबाट नेपाल आएका पाँच म्यानमारी र तीन भारतीय नागरिकलाई पक्राउ गरेको हो।
विदेशबाट हवाई मार्ग हुँदै उच्च मात्रामा ‘टीएचसी’ भएको गाँजा नेपाल भित्र्याउने प्रयास भइरहेको सूचनाका आधारमा यात्रुहरूको ‘प्रोफाइलिङ’ गरी निगरानी बढाइएको ब्युरोले जनाएको छ।
थाइल्यान्डको बैंककबाट थाई एयरवेजको उडान नम्बर टीजी-३१९ मार्फत काठमाडौं आएका पाँच जना म्यानमारी नागरिकको झोला जाँच गर्दा गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
उक्त उडानबाट आएका म्यानमारका जार नि लिन, इ इ थ्वे, आङ ब्वार, चुए म्याट थ्वाल सेइन र जिन म्यो आङ पक्राउ परेका छन्।
त्यस्तै, फुकेटबाट बाटिक एयरवेजको उडान नम्बर ओडी-५४१ मार्फत आएका तीन भारतीय नागरिकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा भारतको पञ्जाबका खुशदीप, गुरदीप सिंह र कामिनी छन्।
पक्राउ परेका व्यक्तिहरूले बोकेको लगेज जाँच गर्दा कुल ३९ किलो २८८ ग्राम थाई गाँजा फेला परेको ब्युरोले जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट आठ थान राहदानी र आठ थान मोबाइल फोनसमेत बरामद गरेको छ। पक्राउ परेका आठै जनामाथि लागुऔषध ओसारपसारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरोका सहप्रवक्ता एवं प्रहरी नायब उपरीक्षक जीवन निरौलाले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।