काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको प्राथमिकतामाथि प्रश्न उठाउँदै दुर्गम क्षेत्रमा नागरिकले सामान्य औषधिसमेत नपाउने तर मन्त्रीको उपचारका लागि राज्यको ठूलो रकम खर्च भइरहेको आरोप लगाएको छ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेसकी प्रमुख सचेतक वासना थापाले दुर्गम क्षेत्रका नागरिकले आधारभूत स्वास्थ्य सेवा र राहतसमेत पाउन नसकेको अवस्थामा मन्त्रीहरूका लागि राज्यले विशेष सुविधा उपलब्ध गराइरहेको भन्दै सरकारको आलोचना गरिन्।
‘जनताले राहत पाउँदैनन्, सिटामोल पाउँदैनन्, सुत्केरीले समयमा अस्पताल पाउँदैनन्,’ थापाले भनिन्, ‘तर काठमाडौँको मिनरल वाटर र जारको पानीमा हुर्किएका मन्त्री कर्णाली पुग्दा खानपान पचाउन नसकेर बिरामी भएपछि लाखौँ खर्च गरेर हेलिकप्टरमा काठमाडौँ ल्याइन्छ ।’
उनले प्रधानमन्त्रीले मन्त्रीलाई काठमाडौँ ल्याउन ३०–३५ लाख खर्च गर्न सक्ने तर जनतालाई ३ लाखको राहत दिन नसक्ने भन्दै आक्रोश पोखिन् । बिहान–बेलुकाको छाक टार्न कठिन भएका नागरिकलाई राज्यले एक सिलिन्डर ग्यास समेत दिन नसकेको अवस्थामा सरकारले गर्ने सुशासनको कुरा खोक्रो भएको उनले दाबी गरिन् ।
त्यस्थमन्त्री र सामान्य नागरिकको जीवनको मूल्य बराबर हुनुपर्नेमा जोड दिँदै थापाले प्रश्न गरिन्, ‘मन्त्रीको जीवन जति मूल्यवान् छ, कर्णालीका नागरिकको जीवन पनि उत्तिकै मूल्यवान् छ । प्रधानमन्त्रीका लागि हेलिकप्टर पुग्ने तर बिरामी नागरिकका लागि अस्पताल नपुग्ने ? के यही हो जनताको सरकार ?’
एकातिर सरकारले ठुला–ठुला एक्सप्रेस–वे (द्रुतमार्ग) का कुरा गर्ने तर अर्कोतिर कर्णालीमा औषधि र राहत समेत नपुग्ने विरोधाभासपूर्ण अवस्था रहेको उनले बताइन् । सरकारको यस्तो व्यवहारले कर्णालीबासीले वास्तविक सुशासनको महसुस गर्न नसकेको उनको भनाइ थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।