काठमाडौं – कलंकीबाट युवक अपहरण गरेर बन्धक बनाउँदै कुटपिट गरेको रहस्य बाहिरिएको छ ।
अपहरणमा परेका युवकलाई अर्धनग्न बनाएर, हातखुट्टा नाइलनको डोरी बाँध्दै चरम यातना दिएको खुलेको छ । नांगो शरीरमा प्लाष्टिकको पाइपले कुट्दै ती युवकसँग फिरौती समेत माग गरेपछि यो विषय सतहमा आएको आएको हो ।
अपरहणमा परेका युवक नवीन रायलाई उद्दार गर्दै प्रहरीले सात जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २८ साउनमा ती युवकलाई उद्दार गरेको हो ।
यो प्रकरणमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–३ का ३२ वर्षीय मनोज बुढाथोकी, अर्घाखाँची मालारानी गाउँपालिका–३ का २२ वर्षीय प्रदीप पोखरेल र काभ्रेको भुम्लु गाउँपालिका–८ का २३ वर्षीय देवकुमार श्रेष्ठ, मकवानपुरको बागमती गाउँपालिका–५ का २० वर्षीय निशान रुम्बा तामाङ, सर्लाहीको लालबन्दी नगरपालिका–४ का २२ वर्षीय जेनिश चौधरी, ओलढुंगाको लिखु गाउँपालिका–५ का २४ वर्षीय निमेश कार्की र चितवनको राप्ती नगरपालिका–२ का २४ वर्षीय अमित ओली पक्राउ परेका छन् ।
पक्राउ परेकाहरुविरुद्ध अपहरण तथा शरीर बन्धकको मुद्दामा ६ दिनको म्याद थप भएको बताइएको छ । पक्राउ परेकाहरुबाट कुटपिटमा गर्न प्रयोग भएको पाइप, नाइलनको डोरी, चक्कु समेत बरामद भएको छ ।
रायलाई २८ साउनको दिउँसो कलंकीको एक क्याफेबाट अपहरण गरी जबरजस्ती ट्यास्कीमा राखेर नागार्जुन नगरपालिकाको छेग्डोलमा लगिएको थियो । पहिल्यै भाडामा लिइएको त्यो घरमा ती युवकलाई थुनेर चरम यातना दिइएको थियो ।
यातना दिँदै अपहरणमा परेका युवकको परिवारसँग १८ लाख समेत फिरौती मागिएको थियो । अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले अपहरणको सूचना पाएको २ घण्टामै उद्दार गरेको थियो ।
अपहरणको मुख्य उदेश्य फिरौती असुलका साथै क्रिप्टो कारोबार हुनसक्ने बतान्छ । यतिसम्मकी अपहरणकारीले रायलाई ट्याक्सीमा राखेपछि एउटा समूहले भने मोटरसाइकलमा स्कर्टिङ समेत गर्दै कलंकीबाट नागार्जुन पु¥याएको थियो ।
यो सबै प्रक्रिया हेर्दा कुनै पेसेवर अपराधीको जस्तो देखिएको भन्दै प्रहरी अधिकारी नै चकित परेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।