जाजरकोट– जाजरकोटको भेरी नगरपालिका–१० नुवागाउँमा कुटपिटबाट एक औषधी व्यवसायीको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार गत साउन २५ गते राति करिब ९ बजे भेरी नगरपालिका–११ जगतिपुरमा औषधी पसल सञ्चालन गर्दै आएका दैलेख नारायण नगरपालिका–२ का ३२ वर्षीय दीपककुमार थापामाथि कुटपिट भएको थियो।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक तथा सूचना अधिकारी सुधिरकुमार खड्काका अनुसार भेरी नगरपालिका–८ का ३३ वर्षीय वीरेन्द्र खत्रीसहितका व्यक्तिहरूले हात–मुक्काले कुटपिट गर्दा थापा घाइते भएका थिए। उनलाई उपचारका लागि रुकुम पश्चिमको चौरजहारीस्थित मिसन अस्पताल लगिएको थियो। सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्जस्थित केयर सिटी अस्पताल लगिएकोमा उपचारकै क्रममा साउन २८ गते बिहान करिब ९:२० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले साउन २९ गते पाँच जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भेरी नगरपालिका–८ का ३३ वर्षीय वीरेन्द्र खत्री तथा वडा नं. ९ का २१ वर्षीय निरज रोकाय, २१ वर्षीय शिशिर योगी गोसाई, २४ वर्षीय लक्ष्मण रोकाय र २८ वर्षीय विनोद गोसाई रहेका छन्।
पक्राउ परेका सबैमाथि जाजरकोट जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा पहिलो पटक १० दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
प्रहरी निरीक्षक खड्काका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।