काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने निर्णय गरेको छ।
भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा निगम सञ्चालक समितिले हाल कायम खुद्रा बिक्री मूल्यलाई निरन्तरता दिने निर्णय गरेको हो।
मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहेको निगमले जनाएको छ। यही कारण आईओसीबाट प्राप्त मूल्यअनुसार स्वचालित मूल्य प्रणालीबमोजिम पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न नसकिएको निगमको भनाइ छ।
पहिलो वर्गमा पेट्रोल प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा र डिजेल/मट्टितेल १९७ रुपैयाँ ५० पैसा कायम छ। दोस्रो वर्गमा दुवैको मूल्य १९९ रुपैयाँ तथा तेस्रो वर्गमा २०० रुपैयाँ प्रतिलिटर कायम गरिएको छ।
पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज रहेका छन्। दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल रहेका छन्।
निगमका अनुसार मूल्य यथावत राख्दा पनि निगमलाई पाक्षिक रूपमा ८१ करोड ३५ लाख रुपैयाँ घाटा हुने देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।