झापा– झापाको भद्रपुरबाट लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका–३ बाट उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा कचनकवल गाउँपालिका–१ का २० वर्षीय प्रकाश हरिजन तथा भद्रपुर नगरपालिका–३ का २१ वर्षीय मनिष राजवंशी र २३ वर्षीय फागुलाल राजवंशी रहेका छन्।
उनीहरूको साथबाट १३ ग्राम ६४० मिलिग्राम लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) बरामद भएको प्रहरीले जनाएको छ। साथै डिजिटल तराजु एक थान र मोबाइल फोन दुई थानसमेत बरामद गरिएको छ।
प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका उनीहरूलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा लागूऔषध फेला पारेको जनाएको छ। पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा, भद्रपुरमा बुझाइएको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ।
प्रहरीले पछिल्लो समय झापा क्षेत्रमा लागूऔषध ओसारपसार तथा कारोबार नियन्त्रणका लागि निगरानी बढाउँदै आएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।