काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले बुधबार सार्वजनिक लेखा समितिमा आइजीपी दानबहादुर कार्कीसँग भएको नोकझोकबारे आफ्नो अडानमा स्पष्ट रहेको बताएका छन् ।
कार्कीतर्फ लक्षित गर्दै सुनारले सामाजिक सञ्जालमार्फत् समितिमा भएको कुराकानीमा बर्दी र फुली देखाएर धम्क्याउँदैमा सकिने विषय नभएको बताएका छन् ।
आफू राष्ट्रसेवक प्रहरी सिपाही र दुखमा साथ दिने म्यादी प्रहरीको पक्षमा सदैव रहेको भन्दै उनले भनेका छन्, ‘हिजोको मुद्दा–बर्दी र फुली देखाएर धम्क्याउँदैमा सकिने विषय हैन !’
यस्तै उनले एक हजार अर्बबढी राज्यमा बेरुजु रहेको भ्रष्टाचार, घोटाला, अनियमितता, काण्ड त कति - कति रहेको बताएका छन् । राज्यको आर्थिक हिसाब-किताबको छलफल गर्न आफूहरु सार्वजनिक लेखा समितिमा रहेको बताएका छन् ।
यस्तै उनले आफूहरुले मुख मिठ्याउँदा जनताको मुख तितो हुने बताएका छन् । उनले भनेका छन्, ‘हामीले मुख मिठ्याउँदा - जनताको मुख तितो हुन्छ ! हामीले तितो बोल्दा - भोका नाङ्गा पिँधका जनताको मुख मिठो हुने दिन आउँछ भने, धेरै तितो बोल्न बाँकी छ ! बिरालोको घाँटीमा घण्टी बाँध्ने जोखिम कसैले न कसैले लिनै पर्छ - त्यसको लागि जस्तो सुकै मूल्य चुकाउन किन नपरोस् !’
गरिबका छोरा- छोरी, म्यादी, सिपाही, हवल्दार भएकाहरुको जुत्ता-मोजा-कट्टु-रासन खाएको अर्बौंको गम्भीर र ठूलो मुद्दा परेकाले त्यसै नछाडिने बताएका छन् । उनले अघि भनेका छन्, ‘मुद्दा लागेको व्यक्तिले बयान दिने हो - प्रवचन दिने हैन ! जुत्ता लगाउने हो - खाने हैन !!’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।