काठमाडौं– काठमाडौंमा नगद तथा मोबाइल लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–१६ बनस्थली क्षेत्रमा नगद तथा मोबाइल लुटपाट गर्ने कार्यमा संलग्न व्यक्तिहरूलाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा उदयपुरको उदयपुरगढी गाउँपालिका–४ घर भई हाल काठमाडौं महानगरपालिका–१६ नयाँ बसपार्क बस्ने ३२ वर्षीय चुरन मगर, तनहुँको सुक्लागण्डकी नगरपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–१६ गोंगबु बस्ने ३३ वर्षीय राजकुमार गुरुङ, महोत्तरीको बर्दिबास नगरपालिका–३ घर भई हाल काठमाडौं महानगरपालिका–१६ नयाँ बसपार्क बस्ने ३३ वर्षीय प्रशान्त जंग शाही र रामेछापको रामेछाप नगरपालिका–५ घर भएका ३२ वर्षीय विजय बाबु घिसिङ रहेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१६ बनस्थली क्षेत्रमा नगद तथा मोबाइल लुटपाट गर्ने कार्यमा संलग्न व्यक्तिहरूको खोजी गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन् ।
उनीहरूलाई नयाँबसपार्कस्थित एक गेष्ट हाउसको कोठाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूको साथबाट मोबाइल फोन ७ थान, नगद ५७ हजार ९६१ रुपैयाँ, ताल्चा खोल्ने औजार १ थान र हेक्सा ब्लेड १ थान बरामद भएको छ ।
जिल्ला अदालत काठमाडौंको आदेशअनुसार पक्राउ परेकाहरूलाई पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।