काठमाडौं– कपिलवस्तुमा पेस्तोल देखाएर स्थानीयलाई डर–धम्की दिँदै हिँडेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
विजयनगर गाउँपालिका–४ जगदिशपुरबाट प्रहरीले एक थान पेस्तोलसहित तीन जनालाई गएराति पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कृष्णनगर नगरपालिका–५ का २३ वर्षीय आषिश पाण्डे, २१ वर्षीय जितेन्द्र मौरिया र १९ वर्षीय विनोद कश्यप रहेका छन् ।
प्रहरीका अनुसार उनीहरू कृष्णनगर नगरपालिका–८ बहादुरगञ्जमा पेस्तोल देखाएर स्थानीयलाई डर, धम्की दिँदै हिँडिरहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी चौकी पत्थरदेहियाबाट खटिएको टोलीले खोजी गरेको थियो । सोही क्रममा उनीहरूलाई पेस्तोलसहित पक्राउ गरिएको हो ।
प्रहरीले उनीहरूले प्रयोग गरेको लु६१प ७०७२ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ । यसैबीच प्रहरीले धादिङ, प्युठान र गुल्मीबाट समेत भरुवा बन्दुक बरामद गरेको छ ।
धादिङको गङ्गाजमुना गाउँपालिका–७ सुकौराबेँसी तिसमुरेस्थित जंगलको ओढारबाट प्रहरीले एकनाले भरुवा बन्दुक एक थान बरामद गरेको छ ।
त्यस्तै, प्युठानको झिमरुक गाउँपालिका–४ छहरापातलस्थित हरिया पातल सामुदायिक वनबाट दुई थान तथा गुल्मीको मदाने गाउँपालिका–२ र ५ बाट दुई थान भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।