काठमाडौं– पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली पर्वतारोही पुरबहादुर गुरुङ (युक्ता) को पार्थिव शरीर स्वदेश ल्याइएको छ।
साउन १४ गते भएको दुर्घटनामा निधन भएका गुरुङको शव बिहीबार साँझ कतार एअरवेजको उडानमार्फत काठमाडौं ल्याइएको हो। दुर्घटनापछि उद्धार, समन्वय तथा कानुनी प्रक्रिया पूरा गर्न पाकिस्तान पुगेका कीर्तिमानी आरोही निर्मल पुर्जाका व्यावसायिक साझेदार एवं प्रतिनिधिसभा सदस्य मिङ्मा डेभिड शेर्पा शव लिएर नेपाल फर्किएका हुन्।
नेपाल पर्वतारोहण संघका अनुसार गुरुङको पार्थिव शरीर आज अन्तिम श्रद्धाञ्जलीका लागि नक्सालस्थित संघको केन्द्रीय सचिवालयमा राखिनेछ। त्यसपछि शुक्रबार बिहान स्वयम्भूमा अन्त्येष्टि गरिने कार्यक्रम तय गरिएको छ।
गोरखाको लाप्राक निवासी गुरुङ नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेश समितिका उपाध्यक्ष तथा मनाङ माउन्टेनियरिङ स्कुल व्यवस्थापन समितिका सदस्यसमेत थिए। पर्वतारोहण क्षेत्रमा उनको योगदानलाई स्मरण गर्दै पर्वतारोहण समुदायले श्रद्धाञ्जली अर्पण गर्ने तयारी गरेको छ।
ब्रोड पिक आरोहणका क्रममा भएको उक्त दुःखद घटनामा कीर्तिमानी आरोही निर्मल पुर्जा, पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा (किलु), निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पासहित ६ नेपाली तथा ४ विदेशी गरी १० जनाले ज्यान गुमाएका थिए।
निर्मल पुर्जाको परिवार बेलायतमा रहेकाले उनको अन्त्येष्टि त्यहीँ गर्ने तयारी भइरहेको छ। दुर्घटनामा मृत्यु भएका अन्य नेपाली पर्वतारोहीहरूको पार्थिव शरीर भने पाकिस्तानमा आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि क्रमशः नेपाल ल्याइने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।