सिरहा– सिरहामा दुई पक्षबीच झडप हुँदा दुई जना घाइते भएका छन् । सुनसरीमा भएको दुई समुदायबीचको भडपको असर अन्य जिल्लामा परेको हो । स्थिति अशान्त बनेसँगै स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।
कर्फ्यु आदेश जारी भए पनि प्रदर्शन जारी छ । आगजनी र तोडफोड हुन थालेपछि प्रहरीले गोली चलाएको छ ।
प्रदर्शनका क्रममा दुई जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि स्थानीय अस्पताल पुर्याइएको छ ।
केहीबेरअघि प्रदर्शनकारीले एक मोटरसाइकल ग्यारेजका मोटरसाइकल निकालेर आगजनीसमेत गरेका थिए । आगजनीका कारण ११ वटा मोटरसाइकल नष्ट भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय, सिरहाले जारी गरेको विज्ञप्ति अनुसार दिउँसो ४ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी भएको हो ।
यसअघि पूर्व–पश्चिम राजमार्गको पूर्व तर्फ गोलबजार नगरपालिका–३ को कसहा खोलादेखि पश्चिमतर्फ चोहर्वा चोक, उत्तरतर्फ गोलबजार–६ सैनिक चोकदेखि दक्षिणतर्फ गोलबजार–४ को क्षेत्रमा कर्फ्यू जारी गरिएको थियो ।
प्रशासनले अर्को सूचना जारी गर्दै लहान क्षेत्रमा पनि कर्फ्यू आदेश जारी भएको जनाएको छ।
प्रशासनका अनुसार लहान नगरपालिकाको पूर्वपश्चिम राजमार्गको पूर्वतर्फ बलान खोलासम्म, पश्चिमतर्फ सरस्वति खोला (बाटिका होटल पश्चिम) सम्म र दक्षिणतर्फ पूर्व–पश्चिम राजमार्गको ५०० मिटर क्षेत्रसम्म वरिपरिको क्षेत्रमा कर्फ्यू लगाइएको बताएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।