काठमाडौं– फ्रान्सका स्टार स्ट्राइकर किलियन एम्बाप्पे विश्वकपको इतिहासमा दुई पटक 'गोल्डेन बुट' (सर्वाधिक गोलकर्ताको पुरस्कार) जित्ने पहिलो खेलाडी बनेका छन्। सन् २०२६ को विश्वकपमा उनले ८ खेलमा १० गोल गर्दै अर्जेन्टिनाका लियोनेल मेसीलाई पछि पारेर यो सफलता प्राप्त गरेका हुन्।
सन् २०२२ को कतार विश्वकपमा ८ गोल गर्दै गोल्डेन बुट जितेका एम्बाप्पेले लगातार दोस्रो पटक यो उपाधि जितेका हुन्।
२७ वर्षीय एम्बाप्पे सन् १९७० मा पश्चिम जर्मनीका गर्ड मुलरपछि एकै विश्वकपमा १० गोल गर्ने पहिलो खेलाडी समेत बनेका छन्। विश्वकपको इतिहासमा एकै संस्करणमा उनीभन्दा बढी गोल गर्नेमा अब फ्रान्सकै जस्ट फन्टेन (१३ गोल, १९५८) र हंगेरीका स्यान्डोर कोसिस (११ गोल, १९५४) मात्र रहेका छन्।
यसका साथै एम्बाप्पे पुरुष विश्वकप इतिहासकै 'अल–टाइम टप स्कोरर' (अहिलेसम्मकै सर्वाधिक गोलकर्ता) बनेका छन्। उनको कुल गोल संख्या २२ पुगेको छ, जुन मेसीको भन्दा एक गोल बढी हो।
शनिबार मियामीमा भएको तेस्रो स्थानका लागि भएको खेलमा फ्रान्स इङ्गल्याण्डसँग ६–४ ले पराजित भए पनि एम्बाप्पेले दुई गोल गरेका थिए। खेलपछि उनले भनेका थिए, ‘विश्वकपमा यति धेरै गोल गर्नु पक्कै पनि एउटा नयाँ उचाइ हो, तर म सर्वाधिक गोलकर्ता हुनुभन्दा फाइनल खेल्न चाहन्थेँ। सन्यासपछि मेरो विरासतका लागि यो राम्रो होला, तर अहिले म यसबारे सोचिरहेको छैन।’
स्पेनलाई उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका कप्तान रोड्रीले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको रूपमा 'गोल्डेन बल' प्राप्त गरे। ३० वर्षीय म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीले फिफा अध्यक्ष जियानी इन्फान्टिनोबाट यो पुरस्कार ग्रहण गरे। सन् २०२३ मा ब्यालन डी'ओर र सन् २०२४ को युरो कपको 'प्लेयर अफ द टूर्नामेन्ट' जितेका रोड्रीका लागि यो तेस्रो ठूलो व्यक्तिगत उपलब्धि हो। मेस्सीले 'सिल्भर बल' र एम्बाप्पेले 'ब्रन्ज बल' जिते।
स्पेनका उनाई सिमोनले ८ खेलमा मात्र एक गोल खाँदै 'गोल्डेन ग्लोभ्स' जिते। एथ्लेटिक क्लबका यी गोलकिपरले सात खेलमा 'क्लिन सिट' राखे (कुनै गोल खाएनन्)। उनलाई प्रतियोगिताभरि केवल बेल्जियमका चार्ल्स डे केटलारेले मात्र गोल गर्न सकेका थिए।
बार्सिलोनाका १९ वर्षीय सेन्टर–ब्याक पाउ कुबार्सीले 'बेस्ट योङ प्लेयर' अवार्ड जिते। स्पेनको मजबुत रक्षापंक्तिका मुख्य खम्बा रहेका उनले फाइनलमा अर्जेन्टिनालाई एउटै पनि 'टार्गेट' सट प्रहार गर्न दिएनन्। कुबार्सीले स्पेनका लागि प्रतियोगिताको हरेक मिनेट मैदानमा बिताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।