रसुवा- चीनसँगको रसुवागढी नाकाबाट स्थानीय बासिन्दाबाहेक अन्य नागरिकलाई चीनको केरुङ जान रोक लगाइएको छ।
चिनियाँ पक्षकै आग्रहमा केरुङ जान रोक लगाइएको रसुवाकी सहायक प्रमुख जिल्ला अधिकारी स्मिता पौडेलले बताइन् । उनका अनुसार, कात्तिक १ गतेदेखि चीनमा हुने नेशनल कंग्रेसको चुनावलाई ध्यान दिँदै चिनियाँ पक्षले फाटफुट रुपमा केरुङ घुम्न जाने नेपालीलाई मितेरी पुलबाट नछोड्न आग्रह गरेकाले अस्थायी पास भएका व्यक्तिलाई केही समयका लागि रोक लगाइएको हो।
सामान लिने कन्टेनर र स्थायी पास भएका रसुवाली नागरिक भने निर्वाधरुपमा आउजाउ गरिरहेको सहायक प्रजिअ पौडेलले बताइन्।
नेपाली बजारका लागि सामान लिन केरुङ गएका ट्रक र कन्टेनर भने फाटफुटरुपमा भन्सार हातामा भित्रिरहेको रसुवाका प्रहरी प्रमुख शरतकुमार थापाले जानकारी दिए । उनले चिनियाँ पक्षले सीमा क्षेत्रमा अन्य थप जानकारी भने नगराएको बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।