काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तथा प्रदेश निर्वाचन निर्वाचनमा पार्टीले महिला नेतृत्वलाई प्राथमिकता दिने बताएका छन्। नेपाल थारु संघको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै ७५३ स्थानीय तहमध्ये कम्तीमा १०० पालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयर वा अध्यक्ष पदमा महिला उम्मेदवार उठाउने लक्ष्य राख्नुपर्ने बताए।
उनले भने, ‘अर्को साल इलेक्सन छ, स्थानीय र प्रदेशको चुनाव आउँछ। यो पटक कम्तीमा पनि ७५३ पालिका मध्ये कम्तीमा पनि १०० वटा पालिकामा नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट मेयर अध्यक्षको उम्मेदवार महिला बनाउने गरिकन काम गरौँ भन्ने छ, अहिलेदेखि मिहिनेत गरौँ। अलिकति कोसिस गरौँ।’
अबदेखि नै निर्वाचनको तयारीमा जुट्नुपर्ने बताए। पार्टीले निर्वाचन तयारीका लागि ‘इलेक्सन ब्यूरो’ गठन गरिसकेको बताए। कांग्रेसले ‘लिडरसिप एकेडेमी’ नामक छुट्टै संरचना पनि स्थापना गरेको जानकारी दिए।
उनले भने, ‘७५३ पालिकामा निर्वाचन लड्न चाहने इच्छा राख्नुभएको कोही पनि हुनुहुन्छ, म उम्मेदवार बन्न चाहन्छु भनेर अहिले दोहोरिनै चाहनुभएको छ, वा नयाँ उम्मेदवार बन्न चाहनुभएको छ भने अनिवार्य रूपमा लिडरसिप एकेडेमीमा भर्ना हुनैपर्छ र एउटा कोर्स पूरा गर्नुपर्छ।’
महिला प्रतिनिधित्व बढाउन अहिलेबाटै धेरैभन्दा धेरै महिलालाई लिडरसिप एकेडेमीमा सहभागी गराउनुपर्नेमा उनले जोड दिए।
योग्य व्यक्तिहरूलाई पार्टीको मूलधारमा जोड्ने, इलेक्सन ब्यूरोसँग समन्वय गराउने तथा लिडरसिप एकेडेमीमा सहभागी गराउने काममा सबै सङ्गठन मिलेर लागेमा आगामी निर्वाचनमा समावेशी र प्रतिनिधिमूलक उम्मेदवारी सुनिश्चित गर्न सकिने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।