काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कम्युनिस्टहरूसँग काँधमा काँध मिलाउँदै हिँडेका कारण पार्टीले आफ्नै चाल बिर्सिनु परेको टिप्पणी गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार भ्रातृ संगठन नेपाल थारू संघ प्रथम महाधिवेशनको उद्घाटन समारोह सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
‘सत्ता प्राप्त गर्नका निम्ति सुरू गरिएको यात्राले कहिले एमालेको चालमा ढल्किन पुग्यौं, कहिले माओवादीको चालमा हामीहरू मिसिन पुग्यौं,’ आङ्देम्बेले भने, ‘यी दुईटैको चालमा मिसिँदा हामीले हाम्रो चाल बिर्स्यौं ।’
पार्टीले आफ्नो चाल खोज्न भ्रातृ संगठनहरूको अधिवेशन सुरू गरिएको उनको भनाइ थियो ।
‘अब आफ्नो चाल खोज्नका निम्ति सुरू गरिएको यो अधिवेशन हो,’ आङ्देम्बेले भने, ‘जसले संस्थागत रूपमा हामीहरूलाई आफ्नो चालमा फर्काउनका निम्ति हामीहरू यहाँ उभिएका छौं ।’
आङ्देम्बेले थारू संघको अधिवेशन कांग्रेसको संकल्पको शंखघोष भएको पनि जिकिर गरे । ‘यो अधिवेशन नेपाली कांग्रेसको संकल्पको शंखघोष पनि हो,’ उनले भने, ‘हामी हिमाल, पहाड र तराई–मधेशका सबै नेपालीलाई एकताको सूत्रमा बाँध्ने छौं ।’
कांग्रेसले टोपी लगाउनेदेखि धोती लगाउनेसम्म, बख्खु लगाउनेदेखि कछाड लगाउनेसम्म, भाषा, भेषभूषा, संस्कृति र भूगोलका विविधताबीच राष्ट्रिय एकता, आपसी सद्भाव र सहकार्यको भावना बलियो बनाउने उनको भनाइ थियो ।
लोकतान्त्रिक मूल्य र मान्यतामा संसदको गरिमा केवल संख्याले मात्र निर्धारण नहुने नेता आङ्देम्बेले बताए ।
‘संख्याको भरमा नाङ्गो नाच नाच्नेहरूलाई लोकतान्त्रिक मूल्य मान्यतामा संख्या धेरै ठूलो कुरो हुँदैन,’ उनले भने, ‘त्यहाँभित्र उठाइने मुद्दाहरू स्थापित गराइने मर्यादका कुराहरूले संसद्लाई झन् मर्यादित गराउँछ भन्ने कुराहरू हामी स्थापित गराएर जान्छौं ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।