काठमाडौं- सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्रीले शुक्रबार संघीय संसद्मा बजेट प्रस्तुत गर्दै स्वास्थ्य सेवा विस्तार, सामाजिक सुरक्षा र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको बताएका हुन्।
सरकारले स्वास्थ्य बीमा कार्यक्रमका लागि १५ अर्ब रुपैयाँ तथा स्वास्थ्य सामाजिक सुरक्षा कार्यक्रमका लागि १३ अर्ब १५ करोड रुपैयाँ विनियोजन गरेको जनाएको छ।
बजेटमार्फत देशभर निर्माणाधीन ३३६ आधारभूत अस्पताल आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ। निर्माण सुरु नभएका अस्पतालहरूको वैज्ञानिक नक्सांकन तथा पूर्वतयारी कार्य अघि बढाइने र त्यसका लागि ५ अर्ब ९० करोड रुपैयाँ छुट्याइएको छ।
दूरदराजका क्षेत्रमा स्वास्थ्य पहुँच विस्तार गर्न कर्णाली र सुदूरपश्चिम प्रदेशमा टेलिमेडिसिन सेवा विस्तार गरिने भएको छ। साथै, संघीय स्तरमा विशिष्टीकृत अस्पतालअन्तर्गत जलन उपचार केन्द्र स्थापना गरिने घोषणा गरिएको छ।
मधेश प्रदेश अस्पतालमा मिर्गौला उपचार सेवा तथा ट्रमा सेन्टर सञ्चालन गरिने बजेटमा उल्लेख छ।
बालबालिकामा हुने क्यान्सर रोगको निःशुल्क उपचार गर्ने व्यवस्था पनि सरकारले गरेको छ। सरकारले यस कार्यक्रमलाई बाल स्वास्थ्य सुरक्षाको महत्त्वपूर्ण पहलका रूपमा प्रस्तुत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।