काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै छन् ।
गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा करिब दुई तिहाइ जनमतसहित बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले आफ्नो पहिलो बजेट ल्याउन लागेको हो ।
बजेट निर्माणमा पार्टीको निर्वाचन वाचापत्र, सरकार गठनपश्चात् सार्वजनिक गरिएको १०० बुँदे शासकीय सुधार कार्य योजना र सदनमा प्रस्तुत विनियोजन विधेयकका प्राथमिकता तथा सिद्धान्तलाई आधार बनाइएको अर्थ मन्त्रालयले जनाएको छ । सङ्घीय संसद्का दुवै सदनका सांसदहरूका सुझाव, राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनमा व्यक्त गरेका प्रतिबद्धता र सरकारको सुशासनको मार्गचित्रलाई पनि बजेटको मूल आधार मानिएको छ ।
नयाँ संविधान जारी भएयता हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा बजेट प्रस्तुत गर्ने प्रचलनअनुसार आज दिउँसो ४ बजे बजे सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने कार्यक्रम तय भएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।