काठमाडौँ– नेपाली काँग्रेसले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सरकार जनताप्रति पर्याप्त जिम्मेवार नदेखिएको निष्कर्ष निकालेको छ।
संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक वासना थापाले गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीले सम्बोधन नगरेको विषय बैठकमा उठेको जानकारी दिइन्। उनका अनुसार प्रधानमन्त्री अनुपस्थित रहने भए त्यसको कारण सार्वजनिक रूपमा जानकारी गराउनु उपयुक्त हुने थियो।
थापाले प्रधानमन्त्रीले व्यस्तता, स्वास्थ्य अवस्था वा अन्य कारण स्पष्ट पारेको भए संस्थागत मर्यादा कायम हुने बताइन्। उनले वर्तमान सरकार बहुमतको आधारमा मात्र निर्णय अघि बढाउन खोजिरहेको आरोप पनि लगाइन्।
उनका अनुसार विगतमा बजेट निर्माण प्रक्रियामा प्रतिपक्षका सुझावसमेत सुन्ने अभ्यास रहेकामा अहिले प्रतिपक्षले उठाएका प्रश्नमा सरकारबाट अपेक्षित जवाफ नआएको अवस्था रहेको छ। उनले प्रधानमन्त्रीबाट संसद् र जनताले आवश्यक जानकारी पाउनुपर्ने धारणा राखिन्।
काँग्रेसले आगामी बजेटमा भौतिक पूर्वाधारभन्दा शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिन सरकारलाई सुझाव दिएको छ।
त्यस्तै, राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन कार्यान्वयन गर्न पनि पार्टीले सरकारसँग माग गरेको छ। थापाले कानुनभन्दा माथि कोही नहुने उल्लेख गर्दै अनुसन्धान र कारबाही प्रक्रिया कानुनी मापदण्डअनुसार अघि बढ्नुपर्ने बताइन्।
उनले प्रारम्भिक प्रचारमुखी गतिविधिभन्दा तथ्यमा आधारित अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने धारणा राख्दै प्रतिवेदनमा उल्लिखित विषय पुष्टि भए त्यसलाई कानुनी प्रक्रियामार्फत अघि बढाउन काँग्रेसले समर्थन गर्ने स्पष्ट पारिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।