काठमाडौँ – चालु आर्थिक वर्षको चैत मसान्तसम्म देशको विदेशी मुद्रा सञ्चिति उल्लेखनीय रूपमा बढेर झन्डै ३५ खर्ब रुपैयाँ पुगेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिति नौ महिनामा ३०.५ प्रतिशतले वृद्धि हुँदै ३४ खर्ब ९५ अर्ब ७३ करोड रुपैयाँ पुगेको हो।
अमेरिकी डलरमा गणना गर्दा असार मसान्तसम्म १९ अर्ब ५० करोड डलर रहेको सञ्चिति चैत मसान्तसम्म बढेर २३ अर्ब ५५ करोड डलर पुगेको राष्ट्र बैंकले जनाएको छ। यो २०.८ प्रतिशतको वृद्धि हो।
राष्ट्र बैंकसँग रहेको विदेशी मुद्रा सञ्चिति पनि उल्लेखनीय रूपमा बढेको छ। असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ रहेको सञ्चिति चैतसम्म ३० खर्ब ८२ अर्ब रुपैयाँ पुगेको छ। यस्तै बैंक तथा वित्तीय संस्थासँग रहेको सञ्चिति २ खर्ब ६३ अर्ब रुपैयाँबाट बढेर ४ खर्ब १२ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ।
राष्ट्र बैंकका अनुसार हालको विदेशी मुद्रा सञ्चितिले २१.८ महिनासम्म वस्तु आयात तथा १८.४ महिनासम्म वस्तु र सेवा आयात धान्न सक्ने अवस्था रहेको छ।
चैत मसान्तसम्म विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ उत्पादन (जीडीपी)सँगको अनुपात ५७.२ प्रतिशत पुगेको छ। गत असार मसान्तमा यस्तो अनुपात ४३.८ प्रतिशत रहेको थियो।
त्यसैगरी समीक्षा अवधिमा कुल वस्तु निर्यात २ खर्ब २२ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ भने कुल आयात १४ खर्ब ९० अर्ब ५० करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।