काठमाडौँ– इजरायलस्थित नेपाली राजदूतावासले इजरायल तथा साइप्रसमा रही कोही कसैले पनि अनौपचारिक रूपमा विप्रेषणको काम, कारोबार नगर्न/नगराउन अनुरोध गरेको छ ।
त्यहाँस्थित दूतावासले बुधबार सूचना जारी गरी इजरायल तथा साइप्रसमा रही कसैले त्यस्तो काम कारोबार गरेको भए त्यस्तो कार्य गर्ने, गराउनेको विवरण प्रमाणसहित राजदूतावासमा जानकारी गराउन आग्रहसमेत गरेको छ । यसले अनौपचारिक रूपमा हुने विप्रेषणलाई रोक्ने कार्यमा सहयोग पुग्ने दूतावासको अपेक्षा छ ।
सूचनामा भनिएको छ, “सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणका लागि विदेशमा रही अनौपचारिक रूपमा विप्रेषणको काम कारोबार (हुण्डी) गरेका वा संकलित रकम नेपाल नपठाएको गोप्य सूचना परराष्ट्र मन्त्रालयमार्फत अर्थ मन्त्रालय वा सम्बन्धित निकायमा विद्युतीय माध्यमबाट पठाउनुपर्ने व्यवस्था भएबमोजिम राजदूतावासले सोसम्बन्धी सूचना राजदूतावासमा उपलब्ध गराउन समय समयमा सूचना प्रकाशित गर्दै आएको छ ।’
नेपाल सरकार (मन्त्रिपरिषद्)ले गत चैत १३ मा स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी एक सय बुँदे कार्यसूचीको बुँदा नं ४५ मा एकीकृत ‘डिजिटल’ सम्पत्ति दर्ता प्रणालीको स्थापना गर्ने, जोखिममा आधारित संकेत्त प्रणाली लागू गर्ने तथा सन्देहात्मक कारोबारको स्वचालित पहिचान गरी सम्बन्धित निकायमार्फत अनुसन्धान प्रक्रिया अगाडि बढाउने उल्लेख भएको दूतावासको उल्लेख गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।