काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा प्रवलजंग पाण्डे निर्वाचित भएका छन् । अध्यक्ष अञ्जनकुमार श्रेष्ठको समूहबाट उमेदवार रहेका पाण्डेले निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल समूहबाट प्रत्याशी रहेकी ज्योत्सना श्रेष्ठलाई पराजित गर्दै महासंघ राजनीतिको केन्द्रमा प्रवेश गरेका हुन् ।
पाण्डेले १ हजार ७९ मत पाउँदा श्रेष्ठले ७५० मत प्राप्त गरिन् । पाण्डे र श्रेष्ठबीच ३२९ मतान्तर रहेको छ । एसोसिएट समूहमा कुल १ हजार ८४४ मत खसेको थियो । योसँगै चार उपाध्यक्षमध्ये तीन उपाध्यक्षमा श्रेष्ठ समूहले बाजी मारेको छ भने एउटा उपाध्यक्ष मात्र ढकाल समूहले जितेको छ ।
ढकाल समूहबाट वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ विजयी भएका छन् भने एसोसिएट उपाध्यक्षसहित दुई जिल्ला/नगर उपाध्यक्षमा श्रेष्ठ समूहका कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी भएका छन् ।
महिला उपाध्यक्षमा समेत श्रेष्ठ समूहबाटै सुनिता न्हेम्याफुकि विजयी भएकी छन् । ढकाल समूहका उमेदवार कमला श्रेष्ठ पराजित भएकी छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।