काठमाडौँ– प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले नागढुंगा सुरुङमार्गलाई साउनको दोस्रो साताभित्र सञ्चालनमा ल्याउन निर्देशन दिएको छ।
सुरुङमार्गको स्थलगत अनुगमनपछि समितिका सभापति आशिष गजुरेलले आयोजना अब ढिलाइ नगरी तोकिएको समयमै सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन्।
उनले परियोजना कार्यान्वयनमा अनावश्यक ढिलाइ गर्न नहुने स्पष्ट पार्दै निर्धारित समयसीमा पुनः पटक-पटक सार्ने अभ्यासप्रति असन्तुष्टि व्यक्त गरे।
यसअघि सुरुङमार्ग सञ्चालन २०८२ माघमा गर्ने लक्ष्य राखिएको भए पनि पछिल्लो समय समयसीमा फेरि सरेर साउनको दोस्रो सातामा पुर्याइएको जानकारी उनले दिए। गजुरेलले आफैँ समय निर्धारण गर्ने तर कार्यान्वयनमा ढिलाइ गर्ने प्रवृत्ति स्वीकार्य नहुने बताए।
उनका अनुसार सुरुङमार्गको आवश्यक भौतिक संरचना निर्माण सम्पन्न भइसकेको, सञ्चालनका लागि निजी क्षेत्र छनोट प्रक्रिया पूरा भएको तथा कार्यविधि र दररेटसमेत तय भइसकेको अवस्थामा अब थप ढिलाइ गर्न उपयुक्त नहुने देखिन्छ।
समितिले परियोजनाको सेवा सञ्चालन तयारीमा देखिएका कमजोरीप्रति समेत ध्यानाकर्षण गराउँदै शीघ्र सुधार गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।