काठमाडौं– काठमाडौं महानगरपालिका वडा नम्बर १४ को बल्खु क्षेत्रमा अनाधिकृत रुपले बनाइएका घर टहरामा पनि डोजर चलेको छ ।
काठमाडौं महानगरपालिकाले आज बिहानदेखि डोजर लगाएर अनाधिकृत बस्ती हटाउन सुरु गरेको हो ।
घर टहरा भत्काउन सुरक्षाकर्मीहरु र नगरप्रहरी परिचालन गरिएको छ ।
डोजर चल्दै गर्दा कतिपयले आफ्ना सामान ओसारिरहेका छन् । कतिपय भने आफू बस्दै आएको घर भत्किरहेको दृष्य हेर्न विवश भएका छन् ।
बल्खु नजिक पर्ने काठमाडौं महानगरपालिका वडा नम्बर ११ को वंशीघाट क्षेत्रका घर टहराहरुमा पनि आज नै डोजर चलेको छ । बल्खु र वंशीघाटसहित वडा नम्बर १५ को स्वयम्भु, वडानम्बर १६ को बालाजु तथा वडा नम्बर ३ र २६ मा पर्ने सामाखुशी, खाडिपाखा, रानीबारी लगायतका क्षेत्र अतिक्रमण गरिएका स्थानमा डोजर चलाउने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार नै विज्ञप्ति जारी गर्दै वैशाख १८ बिहान ७ बजेबाट एकैपटक बस्ती खाली गराउने काम सुरु हुने जनाएको थियो ।
काठमाडौं जिल्ला भित्रका विभिन्न पालिकाहरुका नदी किनाराका बस्ती एवं सरकारी, पर्ति, सार्वजनिक वा व्यक्तिको निजी स्वामित्वमा जग्गा समेत अतिक्रमण गरी अनाधिकृत तबरबाट बर्षौदेखि बसाबास भै आएका बस्तीहरू मानवीय रुपमा उद्धार गर्न एवं विपदको जोखिम समेत मध्यनजर गरी एकैपटक विभिन्न स्थानहरुमा डोजर चलाउने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।
सरकारले डोजर लगाउने भनेर माइकिङ गर्न थालेपछि कतिपय स्थानका बासिन्दाहरु विहीबारदेखि नै बस्ती छाडेर हिँड्न थालेका थिए ।
सरकारले यसअघि वैशाख १२ गतेबाट काठमाडौंका थापाथली, गैरीगाउँ, सिनामंगल, मनोहरा लगायत क्षेत्रका सुकुमवासी बस्तीमा डोजर चलाएको थियो । बाँकी ठाउँमा आजबाट डोजर लगाउन सुरु गरेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।