काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पर्वहरूले सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग पुर्याउने उल्लेख गरेका छन् ।
किराँत समुदायको पर्व उभौलीका अवसरमा सबैमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै उनले यस्ता सांस्कृतिक पर्वहरूले देशको सांस्कृतिक विविधताको सम्मान र संरक्षणलाई कायम राख्ने बताएका हुन् ।
साथै, समानता र सहअस्तित्वका आधारमा विभिन्न जातजाति र समुदायबीच आपसी सद्भाव र एकतालाई सुदृढ बनाउन मद्दत पुग्ने उनको भनाइ छ।
ऋतु परिवर्तनको संकेत दिने पर्वका रूपमा र जङ्गली जनावर तथा पशुपन्छीहरू बेँसीबाट लेकतर्फ बसाइँ सर्ने समय मानेर वैशाख शुक्ल पूर्णिमालाई उभौली पर्वका रूपमा मनाइन्छ । वसन्त ऋतुको आगमनसँगै बाली लगाउने समय सुरु हुने भएकाले प्रकृति र पितृपूजक किरातीहरूले बालीनाली राम्रो होस्, प्राकृतिक प्रकोप तथा विपत्ति नआऊन् भनेर भूमि, बाली र पितृपूजा गर्छन्।
राष्ट्रपति पौडेलले उभौलीमा लगाइएको बाली उधौलीमा घर भित्र्याइने चलन रहेको उल्लेख गर्दै यस दिन साकेला नृत्य गर्दै मीठामीठा परिकार खाएर आपसमा शुभकामना आदानप्रदान गरी रमाइलोसँग यो पर्व मनाउने परम्परा रहेको बताएका छन् ।
उनले उभौली पर्वले सम्पूर्ण नेपालीमा राष्ट्रिय एकताको भावना जागृत गरी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई प्रगाढ बनाउनका लागि ‘सबैमा निरन्तर प्रेरणा प्रदान गरोस्’ भन्ने कामना गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।