काठमाडौं– नयाँ सरकार बन्दै गर्दा देशको आर्थिक अवस्थाबारेको श्वेतपत्र सार्वजनिक भएको छ।
सरकारले ल्याएको शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा उल्लेख भएअनुसार बालेन्द्र शाह नेतृत्वको नयाँ सरकार बन्दै गर्दा देशको अर्थतन्त्रको चित्र सार्वजनिक गरेको हो।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको विद्यमान आर्थिक अवस्था, चुनौती र भावी बाटो समेटेर ‘वर्तमान आर्थिक स्थितिपत्र’ (श्वेतपत्र) जारी गरे। पदमा आउँदै गर्दा यस्तो प्रतिवेदन निर्माणको घोषणा गरेका थिए।
श्वेतपत्रमा विगतको नीतिगत भ्रष्टाचार, आसेपासे पुँजीवाद र शासकीय अस्थिरताका कारण अर्थतन्त्र अनुत्पादक चक्रमा फसेको निष्कर्ष निकालिएको छ।
एक दशकयताको औसत आर्थिक वृद्धिदर ४.२ प्रतिशत मात्र रहेको र चालु आर्थिक वर्ष २०८२/८३ मा वृद्धिदर जम्मा ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ।
अर्थमन्त्री वाग्लेले मुलुकको अर्थतन्त्रको वर्तमान अवस्था उल्लेख गर्दै आगामी आर्थिक वर्षदेखि औसत ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्दै ५ देखि ७ वर्ष भित्र प्रतिव्यक्ति आय ३ हजार डलर नाघ्ने बताएका छन्। अर्थतन्त्रको आकार १ सय अर्ब अमेरिकी डलर नजिक पुर्याउँदै नेपाललाई सम्मानजनक मध्यम आय भएको मुलुक बनाउने आधार रहेको समेत उनले जनाएका छन्।
यस्तै अर्थ मन्त्रालयले श्वेतपत्र (स्थिति पत्र) मार्फत सरकारले यस्ता क्षेत्र पहिचान गरेको छ। यी क्षेत्रहरूमा ऊर्जा क्षेत्र, कृषि उद्योग, पर्यटन र सूचना प्रविधि छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।