काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पक्राउ गरिएको विरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ हुँदैछ।
यसअघि अदालतले जारी गरेको ‘कारण देखाऊ’ आदेशको जवाफमा विपक्षीहरूबाट लिखित जवाफ प्राप्त भइसकेको अदालतले जनाएको छ।
गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा घटेका घटनाहरूको छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय बमोजिम प्रहरीले चैत १४ गते दुवै नेतालाई पक्राउ गरेको थियो। सरकारको यो कदमपछि राजनीतिक वृत्तमा तरंग पैदा भएको छ।
पक्राउ परेलगतै चैत १५ गते केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन्।
त्यसैगरी, रमेश लेखकलाई पनि तत्काल थुनामुक्त गर्न माग गर्दै उनकी पत्नी यशोदा लेखकले सर्वोच्चमा छुट्टै रिट निवेदन दर्ता गराएकी थिइन्। ती दुवै निवेदनमाथि आज संयुक्त रूपमा सुनुवाइ हुन लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।