काठमाडौँ– नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामाजिक सञ्जालमा फैलिएको शैक्षिक संस्थाहरू हप्ताको शनिबार र आइतबार पूर्ण रूपमा बन्द हुने भनी मिति २०८२-१२-१७ को सूचना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटाद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त सूचनामा कुनै सत्यता नभएको उल्लेख गरिएको छ। मन्त्रालयको निर्णय, कारण र उद्देश्यसमेत उल्लेख गरी आधिकारिक जस्तो देखिने गरी बनाइएको सो सूचनाले आम विद्यार्थी, अभिभावक र शैक्षिक संस्थाहरूमा अन्योल सिर्जना गरेको भन्दै मन्त्रालयले यस्ता भ्रामक कुराको पछि नलाग्न सबैमा अनुरोध गरेको छ ।
‘उक्त सूचना कपोलकल्पित र भ्रामक हो र यसमा कुनै वास्तविकता छैन। शैक्षिक संस्थाहरूले यस आधारमा कुनै निर्णय लिनु हुँदैन,’ मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयले सम्बन्धित सबै शैक्षिक संस्था तथा सरोकारवालाहरूलाई सचेत रहन आग्रह गरेको छ।
मन्त्रालयले सरकारी कागजात, छाप र हस्ताक्षरको दुरुपयोग गरी गलत सन्देश प्रवाह गर्नु गम्भीर अपराध भएको जनाएको छ । यस्तो भ्रामक एवं मिथ्या सूचना सम्प्रेषण गर्ने व्यक्तिहरूको पहिचान गरी प्रचलित कानुन बमोजिम कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायलाई अनुरोध समेत गरिएको छ ।
साथै, सरकारी कागजात, छाप वा दस्तखतको दुरुपयोग गरी गलत सूचना फैलाउने व्यक्ति पहिचान गरी प्रचलित कानुन बमोजिम कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।