काठमाडौँ– सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले कायम मुकायम (कामु) प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी छन्।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत ६५ वर्षे उमेर हदका कारण मंगलबार अवकाश भएपछि संवैधानिक व्यवस्थाअनुसार मल्ल कार्यवाहक नेतृत्वमा पुगेकी हुन्।
नेपालको संविधानको धारा १२९(९) अनुसार प्रधानन्यायाधीशको पद रिक्त भएको अवस्थामा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने व्यवस्था छ। सोही प्रावधानअनुसार अदालतको नेतृत्व मल्लले सम्हालेकी हुन्।
मल्ल १७ साउन २०७३ मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएकी थिइन्। सर्वोच्चमा कार्यरत रहँदा उनले लैंगिक न्याय, घरेलु हिंसा तथा संवैधानिक विषयसँग सम्बन्धित मुद्दामा विभिन्न नजिर स्थापना गरेकी छन्।
यसबीच नयाँ प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया भने अघि बढ्न सकेको छैन। न्यायपरिषद्ले योग्य ठहरिएका न्यायाधीशहरूको सूची यसअघि नै संवैधानिक परिषदमा पठाएको भए पनि परिषद् पूर्ण नहुँदा सिफारिस प्रक्रिया शुरु हुन सकेको छैन ।
संवैधानिक परिषद् गठनका लागि प्रतिनिधिसभाबाट सभामुख, उपसभामुख तथा प्रमुख विपक्षी दलको नेताको चयन आवश्यक हुन्छ। यी पद रिक्त रहेकाले परिषद् पूर्ण हुन सकेको छैन।
संघीय संसद्को अधिवेशनपछि मात्रै परिषद् पूर्ण हुने अपेक्षा गरिएको छ। त्यसपछि नयाँ प्रधानन्यायाधीश सिफारिस, संसदीय सुनुवाइ र राष्ट्रपतिबाट नियुक्तिको प्रक्रिया अघि बढ्नेछ।
यी सबै प्रक्रिया पूरा गर्न कम्तीमा एक महिना लाग्ने अनुमान गरिएको छ। सो अवधिसम्म सर्वोच्च अदालतको नेतृत्व कामु प्रधानन्यायाधीशका रूपमा मल्लले नै सम्हाल्नेछिन्।
कानुन व्यवसाय तथा मानवअधिकार क्षेत्रमा अनुभव बोकेकी मल्ल त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक, दिल्ली विश्वविद्यालयबाट स्नातकोत्तर तथा अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट जनप्रशासनमा अध्ययन गरेकी छन्।
संविधानसभा सदस्यका रूपमा समेत काम गरेकी उनले संयुक्त राष्ट्रसंघको यातना विरुद्धको समितिमा विज्ञ सदस्यका रूपमा भूमिका निर्वाह गरेकी थिइन्।
उनी प्रधानन्यायाधीशमा नियुक्त भएको अवस्थामा ३० कार्तिक २०८५ सालसम्म सो पदमा रहनेछिन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।