काठमाडौँ – भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालमा विद्युत् निर्यात गर्ने समय सीमा थप गर्दै नयाँ तालिका सार्वजनिक गरेको छ। अब आगामी १५ दिनसम्म नेपालमा चौबिसै घण्टा विद्युत् निर्यात गर्ने अनुमति प्रदान गरिएको छ।
यसअघि मार्च ३१ सम्म दैनिक ६०० मेगावाट विद्युत् निर्यात गर्न सकिने प्राधिकरणले अब अप्रिल १ देखि १५ सम्म लगातार आपूर्ति सुनिश्चित गर्ने निर्णय गरेको हो।
त्यसपछि अप्रिल १६ देखि ३० सम्म दैनिक १६ घण्टा विद्युत् आपूर्ति हुने व्यवस्था लागू हुनेछ, जसअनुसार बिहान २ बजेदेखि बेलुका ६ बजेसम्म मात्र निर्यात हुनेछ।
नेपाल विद्युत् प्राधिकरणलाई भारतीय पावर एक्स्चेन्जमार्फत मुजफ्फरपुर-ढल्केबर ४०० केभी प्रसारण लाइनमार्फत ६०० मेगावाटसम्म विद्युत् निर्यात गर्न अनुमति दिइएको छ। आगामी जुलाई र अगस्टमा पुनः चौबिसै घण्टा आपूर्ति हुने व्यवस्था छ भने मेदेखि जुनसम्म दैनिक १६ घण्टा विद्युत् आपूर्ति हुने प्रावधान रहनेछ।
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यका अनुसार, हिउँदमा खोला तथा नदीमा पानीको बहाव कम भएकाले आन्तरिक उत्पादन घट्ने हुँदा अप्रिलपछि १६ घण्टा निर्यात सुनिश्चित गर्दा नेपालको माग पूरा गर्न सजिलो हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।