काठमाडौं - पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाउन्नेस्थित घिउ खोलामा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
राती करिब १ बजे बर्दघाट नगरपालिका–४ स्थित सडकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ९३९८ नम्बरको ट्रकले सोही दिशाबाट आउँदै गरेको लु २ ख २३५१ नम्बरको बस र ना ५ ख २२७५ नम्बरको पिकअपलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी विरदत्त पन्तका अनुसार बस र ट्रक भिरमा खसेका हुन् । बस करिब २ सय मिटर र पिकअप भ्यान १ सय मिटर तल खसेको थियो ।
घटनापछि प्रहरी, सेना र सशस्त्र प्रहरीले घाइतेको उद्धार गरेका थिए । घाइतेमध्ये जिल्ला अस्पताल परासीमा तीन जनाको मृत्यु भएको छ । मृतकमध्ये रोल्पा बागमाराअका गोविन बुढाको सनाखत भएको र दुई जनाको सनाखत हुन सकेको छैन । घाइतेहरुको लुम्बिनी सिटी अस्पताल रुपन्देही र जिल्लाका स्वास्थ्य संस्थामा उपचार भैरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।