काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले पेट्रोलियम पदार्थको आपूर्ति असहज भएको वर्तमान अवस्थालाई आधार बनाएर कृत्रिम अभाव सिर्जना गर्दै कालोबजारी नगर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको भिडियो सन्देशमा उनले आपूर्ति समस्या देखिएको समयलाई अवसरका रूपमा प्रयोग गर्दै सामान भण्डारण गरी अत्यधिक मूल्यमा बिक्री गर्ने प्रवृत्ति दोहोरिन सक्ने भन्दै त्यसो नगर्न सचेत गराएका छन्।
साम्पाङले सरकारलाई समेत उपलब्ध सबै संयन्त्र परिचालन गरी पेट्रोलियम पदार्थको आपूर्ति नियमित र सहज बनाउनेतर्फ आवश्यक पहल गर्न ध्यानाकर्षण गराएका छन्।
उनका अनुसार अभावको परिस्थितिलाई प्रयोग गर्दै सामान्य मूल्यका वस्तु अत्यधिक महँगो दरमा बिक्री गर्ने अभ्यासले सर्वसाधारणलाई अनावश्यक सास्ती दिने भएकाले यस्तो प्रवृत्ति रोक्नुपर्ने आवश्यकता औँल्याएका छन्।
हाल मध्यपूर्व क्षेत्रमा बढेको तनावका कारण ग्यासको माग बढेपछि नेपाल आयल निगमले आधा मात्र ग्यास भरिएका सिलिन्डर बजारमा पठाउने व्यवस्था मिलाएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।