झापा– सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै आज झापाको काँकरभिट्टामा विरोध प्रदर्शन गरिएको छ ।
प्रगतिशील युवा क्लब धुलाबारीको अगुवाइमा काँकरभिट्टास्थित हनुमान मन्दिर परिसरबाट निकालिएको विरोध र्यालीले नगरका विभिन्न भागको परिक्रमा गरेपछि पूर्वी प्रवेशद्वारमा पुगेर खबरदारी सभामा परिणत भएको थियो ।
र्यालीमा मेचीनगर नगरपालिका क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, मानवअधिकारकर्मी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरूको ठूलो उपस्थिति रहेको थियो । सहभागीहरूले ‘दोषीलाई कडाभन्दा कडा कारबाही गर’, ‘हत्या हिंसा बन्द गर’, र ‘जहाँ छोरी डराउँछे, त्यहाँ समाज असफल हुन्छ’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
सभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारी, शिक्षक सुभद्रा भट्टराई, महिला अधिकारकर्मीद्वय राधा प्रधान र पूजा सापकोटा तथा मानवअधिकारकर्मी विनय कार्कीले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई हदैसम्मको सजाय दिन माग गरे ।
उनीहरूले यस्ता जघन्य अपराधका घटनाले समाजमा असुरक्षा बढाएको भन्दै पीडित परिवारलाई अविलम्ब न्याय दिलाउन सरकारको ध्यानाकर्षण गराए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।