काठमाडौं– नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादको सुनुवाइ आइतबार सर्वोच्च अदालतमा हेर्न नभ्याइनेमा परेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासमा २२ नम्बरमा राखिएको पेसी हेर्न नभ्याइनेमा राखिएको हो ।
यस अघि पुस २७ देखि ३० सम्म काठमाडौंमा भएको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा कार्यसमिति निर्वाचित भएको थियो। निर्वाचन आयोगले उक्त कार्यसमितिलाई मान्यता दिएको थियो ।
तर तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। खड्काले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई अवैध ठहर गर्दै निर्णय बदर गर्न माग गरेका थिए।
सर्वोच्च अदालतले विशेष कार्यसमितिलाई मान्यता दिने आयोगको निर्णयविरुद्ध दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो। ६ माघमा अदालतले दुवै पक्षलाई छलफलमा बोलाएको थियो।
तर आइतबार किशोरी साह कमलको धनुषा–१ को उम्मेदवारीसम्बन्धी मुद्दामा सुनुवाइ भइरहेकोले कांग्रेसको आधिकारिकता मुद्दा हेर्न नसकिने भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।