काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुसूदन बुर्लाकोटीले बजारमा देखिएको ग्यास अभावमा उपभोक्ता तथा वितरक दुवै पक्षमा रहेको थुपार्ने मानसिकता पनि जिम्मेवार रहेको बताएका छन्।
विश्व उपभोक्ता अधिकार दिवस २०८२ का अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले ग्यास आपूर्तिमा ढिलाइ भएको स्वीकार गर्दै विगतमा अनावश्यक रूपमा ग्यास थुपार्ने प्रवृत्तिका कारण अभावको अवस्था देखिएको बताए।
“सुरक्षित उत्पादन, विवेकशील उपभोक्ता र जिम्मेवार प्रशासन” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा सचिव बुर्लाकोटीले उपभोक्ताको अधिकार संरक्षण र बजार व्यवस्थापन सुधारका लागि मन्त्रालयले आवश्यक पहल गरिरहेको जानकारी दिए।
उनले ग्यासलगायत उपभोग्य वस्तुको गुणस्तर सुधारका लागि समेत मन्त्रालयले विभिन्न पहल गरिरहेको बताए। बजारमा हुने अनियमितता रोक्न उपभोक्ताले पनि सचेत भएर सूचना दिनुपर्ने उनको भनाइ थियो।
सचिव बुर्लाकोटीले आफूलाई उपभोक्ताबाट महँगो मूल्यमा ग्यास बिक्री भएको गुनासो आएको उदाहरण उल्लेख गर्दै पसलको नाम सार्वजनिक गर्न आग्रह गर्दा गोपनीयताको कारण जानकारी दिन नमिल्ने जवाफ आएको बताए।
उपभोक्ताका अधिकार संरक्षणका लागि नागरिकले पनि सक्रिय रूपमा खबरदारी गर्नुपर्ने उल्लेख गर्दै उनले आफूलाई निरन्तर झक्झक्याइरहन आग्रह गरे। सुझावहरू इमान्दारपूर्वक कार्यान्वयन गर्ने प्रयास रहने उनको भनाइ थियो।
उपभोक्ता अधिकारका क्षेत्रमा कार्यरत अभियन्ताहरूलाई अब नेतृत्व हस्तान्तरण गर्दै थप प्रभावकारी रूपमा काम गर्ने वातावरण बनाउनुपर्ने आवश्यकता रहेको पनि सचिव बुर्लाकोटीले उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।