काठमाडौँ– नेपाली सेनाले संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित रहेको बताएको छ ।
मंगलबार सैनिक प्रवक्ता गौरवकुमार केसीले शान्ति मिसनमा त्यहाँ रहेका नेपाली फौजसँग नियमित सम्पर्क भइरहेको र सबै फौज सुरक्षित रहेको जानकारी दिएका हुन् ।
प्रवक्ता केसीले लेबनानको विकसित परिस्थितिका आधार संयुक्त राष्ट्रसंघ र मिसन मुख्यालयबाट हुने निर्णय र निर्देशानुसार नेपाली शान्ति सैनिक खटाइने बताए ।
'शान्ति मिसन वरपर छिटपुट घटना भएका छन्, यसबाट दैनिकी र कार्यसम्पादनमा असर परिरहेको छ । संयुक्त राष्ट्रसंघको निर्देशन नेपाली शान्ति सेनाले पालना गर्नेछ,' सैनिक प्रवक्ता केसीले भने ।
संयुक्त राष्ट्रसंघको शान्ति मिसनका लागि लेबनानमा खटिएको नेपाली सैनिकको एक क्याम्पमा हमला भएको थियो।
समाचार एजेन्सी एएफपीका अनुसार नेपाली शान्ति सैनिकको बटालियन हेडक्वाटरमा हमला भएको हो।
लेबनानभर ५ सय बढी नेपाली शान्ति सैनिक तैनाथ छन्। त्यहाँको खटनपटन दक्षिण लेबनानमा अवस्थित बटालियन हेडक्वाटरले गर्छ।
बटालियन हेडक्वाटर इजरायलसँगको सिमाना नजिक छ। त्यहाँको फोर्स कमाण्डर उपरथी मानबहादुर थापा छन्। आक्रमणको बेला सबै शान्ति सैनिकहरु बंकरभित्र रहेकाले सुरक्षित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।