काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माणमा जुट्नुपर्ने बताउँदै कार्यकर्ता र नेताहरूलाई एकताबद्ध भएर संगठन सुदृढ बनाउन आह्वान गरेका छन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले हालको राजनीतिक परिस्थितिलाई आत्मसमीक्षा र पुनर्निर्माणको अवसरका रूपमा लिनुपर्ने बताएका छन् । उनले एउटा चुनावी हारले नेपाली कांग्रेसजस्तो ऐतिहासिक पार्टीलाई कमजोर बनाउन नसक्ने बताए ।
‘एउटा चट्टानमाथिको रूखजस्तै नेपाली कांग्रेस यो आँधीमा पनि कम्तीमा उभिएको छ । एउटा हारले नेपाली कांग्रेस कहिल्यै हार्ने छैन,’ चालिसेले लेखेका छन् । उनका अनुसार अहिलेको चुनौतीपूर्ण अवस्थाले पार्टीलाई थप परिपक्व र संगठित बन्ने अवसर दिएको छ ।
चालिसेले पार्टीलाई अझ मजबुत बनाउन कार्यकर्ताको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै रुखलाई मलिलो जमिनमा सारेर हुर्काउने कामजस्तै संगठनलाई बलियो बनाउने जिम्मेवारी सबैको भएको बताए । उनले पार्टीभित्र आत्मसमीक्षा, संगठन विस्तार र कार्यकर्ता सुदृढीकरणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
उनले आगामी दिनमा फेरि निर्वाचन आउने र त्यसका लागि अहिलेबाटै तयारी सुरु गर्नुपर्ने धारणा राखेका छन् । ‘फेरि चुनाव आउनेछ, हामी झन् बलियो भएर जित्नेछौँ,’ उनले भनेका छन् । चालिसेले अहिलेको अवस्थामा विरोधीहरूले अवसर खोजेर आक्रमण गर्ने स्वाभाविक भएको उल्लेख गर्दै कांग्रेसले त्यसतर्फ ध्यान नदिई संगठन सुदृढीकरणमा केन्द्रित हुनुपर्ने बताए । ‘बाटो हेरेर आक्रमण गर्ने काम त विरोधीहरूको हो,’ उनले भने ।
उनले कांग्रेस नेपालको लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेको ऐतिहासिक शक्ति भएको उल्लेख गर्दै आगामी दिनमा पनि देशको नेतृत्व गर्ने विश्वास व्यक्त गरे । ‘कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।