विराटनगर– नेपाली सेनाको बम डिस्पोजल टोलीले मोरङ र ताप्लेजुङमा फेला परेका दुई शंकास्पद वस्तु सुरक्षित रूपमा निष्क्रिय गरेको छ।
मोरङ जिल्लाको विराटनगर महानगरपालिका–७, डाँफे चोकमा गए राति कालो प्लास्टिकको पोकाभित्र शंकास्पद वस्तु रहेको सूचना प्राप्त भएपछि नेपाली सेनाको विराटनगर विमानस्थलमा तैनाथ बम डिस्पोजल टोलीसहितको फौज परिचालन गरिएको थियो। सुरक्षा घेरा कायम गरी उक्त क्षेत्रलाई नियन्त्रणमा लिएपछि आज बिहान ०६:५४ बजे उक्त वस्तु निष्क्रिय गरिएको सेनाले जनाएको छ।
यसैगरी, ताप्लेजुङ जिल्लाको आठराई त्रिवेणी गाउँपालिका–३, पञ्चमीस्थित हाङपाङ–दोभान भित्री कच्ची सडकखण्डमा आज बिहान ०९:१० बजे कालो टेपले बेरिएको अर्को शंकास्पद वस्तु फेला परेको थियो। जानकारी प्राप्त हुनासाथ हाङपाङ सुरक्षा वेशमा तैनाथ बम डिस्पोजल टिमसहितको फौज परिचालन गरी उक्त वस्तु १२:०१ बजे सुरक्षित रूपमा निष्क्रिय गरिएको सेनाले जनाएको छ ।
निर्वाचन सुरक्षालाई लक्षित गर्दै पूर्वी पृतना अन्तर्गत कोशी प्रदेशका सम्पूर्ण जिल्लामा करिब १२० स्थानमा बम डिस्पोजल टिम तैनाथ गरिएको छ। साथै, सम्बन्धित क्षेत्रमा कुनै शंकास्पद वस्तु देखा वा फेला परेमा नजिकैका सुरक्षा निकायलाई तत्काल जानकारी गराउन पूर्वी पृतना हेडक्वाटरले सर्वसाधारणमा अपिल गरेको छ।
घटनामा कुनै मानवीय क्षति नभएको र स्थिति सामान्य रहेको सेनाले स्पष्ट पारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।