काठमाडौं– रामेछापमा मतपेटिका लगायत निर्वाचन सामग्री बोकेर कर्मचारी र सुरक्षाकर्मी सवार गाडी दुर्घटना भएको छ ।
जिल्ला प्रहरी कार्यालय, रामेछापका प्रवक्ता इन्स्पेक्टर राजन तिम्सिनाका अनुसार मन्थलीबाट रामेछाप-२ र ३ को बुथका लागि निर्वाचन सामग्री लिएर कर्मचारी र सुरक्षाकर्मी सवार गाडी देउराली सिरुबारीको भिरमा खसेको प्रारम्भिक सूचना प्राप्त भएको छ ।
उनका अनुसार आगामी निर्वाचनका लागि देउराली मतदान केन्द्रका मतदान अधिकृतसहित प्रहरीको टोली लिएर गाडी रामेछापतर्फ जाँदै गदै दुर्घटना भएको खबर आएको बताए । उनले भने,‘ उद्धारको लागि प्रहरीको टोली अहिले घटना स्थलतर्फ गइरहेकाले थप विवरण आउन बाँकी रहेको छ ।’
‘अहिले गाडी नम्बरहरू केही खुलेको छैन । दुईवटा बुथका लागि सामान बोकेर गएको गाडी दुर्घटनामा परेको खबर छ । गाडीमा मतदान अधिकृत, अन्य कर्मचारी र सुरक्षाकर्मी छन् । प्रहरी टोली पठाउँदै छौँ’, तिम्सिनाले भने । थप विवरण बुझ्ने काम भइरहेको उनले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।