काठमाडौँ– मध्यपूर्वमा हालैको घटनाक्रमका कारण समस्यामा परेका नेपाली नागरिकहरूको सहयोगका लागि नेपाली काँग्रेस ले ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याएको छ।
पार्टीका सभापति गगन थापाले जानकारी दिए अनुसार विभिन्न देशमा रहेका नेपालीहरूलाई राहत, स्थानान्तरण र तत्काल उद्धारको आवश्यकतालाई मध्यनजर गर्दै यो सेवा सुरु गरिएको हो।
थापाले भनेका छन्, “मध्यपूर्वका केही देशमा उत्पन्न परिस्थितिले धेरै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई प्रभावित पारेको छ। कतिपयले तत्काल उद्धार र स्थानान्तरण आवश्यक पारेका छन् भने केहीको आफ्नो परिवारसँग सम्पर्क हुन सकिरहेको छैन।”
उनीहरूले नेपालबाट उडान रद्द हुनुका कारण प्रभावितहरूको स्थिति अझ कठिन भएको बताएका छन्। सरकारले आफ्नो तवरले उद्धार र व्यवस्थापनमा काम गरिरहेको भए पनि काँग्रेसले थप सहयोग पुर्याउने उद्देश्यले हेल्प डेस्क सञ्चालनमा ल्याएको थापाले बताए।
यस प्रक्रियालाई सहज बनाउन सम्बन्धित देशमा रहेका नेपाली जनसम्पर्क समिति र गैरआवासीय नेपाली संघ ले आवश्यक समन्वय गरिरहेको छ।
साथै, उडान अवरुद्ध भएका कारण काठमाडौँमा रोकिएका नेपालीहरूलाई आफ्नो गृह जिल्ला वा घरसम्म पुग्न आवश्यक यातायातको प्रबन्ध पनि गरिएको जानकारी दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।