काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन परिणामलाई व्यक्तिगत विषयका रूपमा नहेर्न आग्रह गरेका छन् ।
उनले उक्त धारणा झापा-५ क्षेत्रमा आयोजित चुनावी कार्यक्रममार्फत व्यक्त गरेका हुन् ।
भट्टराईका अनुसार सो क्षेत्रमा ओलीको जित वा हार केवल एक उम्मेदवारको परिणाममा सीमित नहुने दाबी गर्दै उनले यसलाई राष्ट्रिय स्वाभिमान, नेपाली पहिचान र देशको समग्र प्रतिष्ठासँग सम्बन्धित विषयका रूपमा व्याख्या गरे । उनले मतदातासँग अध्यक्ष ओलीलाई समर्थन गर्न अपिल गर्दै राष्ट्रियताको सवाललाई प्राथमिकतामा राख्नुपर्ने तर्क प्रस्तुत गरे ।
उनले पार्टीभित्रका विषयलाई सार्वजनिक रूपमा अतिरञ्जित ढंगले उठान नगर्न सुझाव दिँदै संगठनात्मक एकता र अनुशासन कायम राख्नुपर्नेमा जोड दिए ।
भट्टराईले स्थानीय तहदेखि संघीय संरचनासम्म फरक-फरक तहमा प्रतिनिधित्व गर्ने नेताहरूले आ-आफ्नो जिम्मेवारीअनुसार भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे । उनका अनुसार कोही संसद्मा, कोही पार्टी संरचनामा तथा कोही जनसंगठनमार्फत सक्रिय रहँदा समग्र संगठन सुदृढ हुने उल्लेख गरे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।