काठमाडौं– कतारले आपतकालीन सूचना जारी गर्दै अत्यावश्यक काम नभई बाहिर स्थानीय नागरिक र आप्रवासी कामदारलाई आग्रह गरेको छ ।
उसले उनीहरुलाई आफ्नो बासस्थानमै रहन अनुरोध गरेको हो । कतारमा ४ लाख नेपाली कार्यरत छन् ।
त्यसअघि कतारले आफ्नो आन्तरिक सुरक्षा स्तरमा हालसम्म कुनै पनि प्रकारको चिन्ताजनक संकेत नदेखिएको स्पष्ट पारेको थियो । इजरायल र अमेरिकाले इरानमा आक्रमण गरेपछि कतार सरकारले शनिबार दिउँसो विज्ञप्ति सार्वजनिक गर्दै आफ्नो सुरक्षा अवस्था अवस्था पूर्ण रूपमा स्थिर र सुरक्षित रहेको जनाएको हो ।
‘सुरक्षा निकायहरूले चौबीसै घण्टा अवस्थाको निगरानी गरिरहेको छ । एकीकृत कार्य सञ्चालन प्रणालीमार्फत विभिन्न निकायहरूसँग समन्वय गर्दै सार्वजनिक सुरक्षा सुदृढ बनाउने, नागरिक, आप्रवासी तथा घुम्न आएकाको सुरक्षा सुनिश्चित गर्ने तथा अत्यावश्यक सेवाहरू अवरुद्ध हुन नदिने कार्य भइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
आन्तरिक मन्त्रालयले सर्वसाधारणलाई आधिकारिक र अधिकृत स्रोतबाट मात्र जानकारी लिन आग्रह गरेको छ । ‘अफवाह वा अज्ञात स्रोतबाट फैलाइने सन्देशहरूमा ध्यान नदिन र अपुष्ट समाचार तथा भिडियो सामग्री सामाजिक सञ्जालमार्फत नफैलाउन पनि अनुरोध छ,’ विज्ञप्तिमा उल्लेख छ ।
कतारको रक्षा मन्त्रालयले 'देशको भूभागलाई लक्षित गरी गरिएका केही आक्रमण प्रयास सफलतापूर्वक विफल पारिएको' जनाएको जनाएको छ। मन्त्रालयले पूर्वस्वीकृत सुरक्षा योजनाअनुसार खतरा पहिचान हुनासाथ तुरुन्तै नियन्त्रणमा लिइएको र सबै मिसाइल कतारी भूभागमा पुग्नुअघि नै अवरोध (इन्टरसेप्ट) गरिएको दाबी गरेको छ ।
कतारमा अमेरिकी सुरक्षा बेस क्याम्प छ । बाक्लो रुपमा आप्रवासी कामदार बसेको ठाउँ सनैयाको नजिकको दुरीमा बेस क्याम्प छ । यसअघि इजरायल र इरानबीच युद्ध हुँदा इरानले कतारको सैन्य क्याम्पमा पनि आक्रमण गरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।