काठमाडौं– निर्वाचन आयोगले लैङ्गिक समावेशितासम्बन्धी नीति कार्यान्वयन गर्दै निर्वाचन प्रक्रियाका प्रत्येक चरणमा महिला सहभागितालाई प्राथमिकतामा राखेको छ ।
संविधान र कानूनले निर्देशित गरे बमोजिम समावेशी निर्वाचन गराउन राजनीतिक दल, मतदान केन्द्र तथा आयोगमा लैगिक सम्पर्क व्यक्ति तोकेको छ ।
आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरले संविधान र कानूनले निर्देश गरे बमोजिम आयोग लैङ्गिक समावेशी निर्वाचन गराउन सदैव प्रतिबद्ध रहेको दाबी गरिन् ।
आयुक्त डा. तुलाधरले निर्वाचन आयोगले प्रत्येक राजनीतिक दललाई निर्वाचन सम्पर्क व्यक्तिको रूपमा महिलालाई नै पठाउन अनुरोध गरेको पनि स्पष्ट पारिन् । आयोगको पहलका कारण अहिले अधिकांश दलहरूमा महिला नै सम्पर्क व्यक्तिको रूपमा रहेको उनको भनाई थियो । ६ हजार ७ सय ४३ वटा मतदान केन्द्रमा सूचना सम्पर्क स्थापित गर्नेगरी आयोगले ७ सय ५३ वटै स्थानीय तहमा लैङ्गिक सम्पर्क व्यक्ति तोकेको डा. तुलाधरको भनाई थियो ।
उनले लैङ्गिक समावेशिताको कुरालाई सम्बोधन गर्दै आयोगले ६ हजार ७ सय ४३ वटै मतदान केन्द्रमा सूचना संप्रेषणका लागि ७ सय ५३ स्थानीय तहमो लैंगिक सम्पर्क व्यक्तिलाई राखेको दाबी गर्दै आयोगमा पनि लैंगिक सम्पर्क व्यक्ति राखिएको स्पष्ट पारिन् । लैङ्गिक समावेशिताको दृष्टिले कहीँ कतै आयोग नचुकोस् भन्नको लागि सचेत रहेको भन्दै उनले राजनीतिक दलहरुलाई पनि लैंगिक सम्पर्क व्यक्ति राख्नका लागि भनिएको र सोही अनुसार व्यवस्था भएकोसमेत जिकिर गरिन् ।
मतदान केन्द्रहरुलाई पनि महिला तथा अपाङ्गता मैत्री बनाउनमा आयोग सचेत अनि गम्भीर रहेको स्पष्ट पार्दै फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तीन जना मुख्य निर्वाचनअधिकृत र १८ जना निर्वाचन अधिकृत गरी २१ जना महिला निर्वाचन अधिकृत खटिएको डा. तुलाधरको भनाई छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।