काठमाडौं–जिल्ला प्रशासन कार्यालय काठमाडौंले फागू पूर्णिमा (होली) पर्व मर्यादित, अनुशासित र सुरक्षित ढंगले मनाउन सार्वजनिक अपिल गरेको छ ।
निर्वाचनको आचार संहिता र सुरक्षा संवेदनशीलताको कारण जनाउँदै प्रशासनले यस वर्षको होलीमा कडा प्रतिबन्धहरू लगाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालद्वारा हस्ताक्षरित सूचनाअनुसार सार्वजनिक स्थानमा होहल्ला गर्ने, झै-झगडा गर्ने, र मादक पदार्थ सेवन गरी सार्वजनिक मर्यादामा खलल नपुर्याउन भनिएको छ । कसैको इच्छाविपरीत रंग दल्ने, लोला हान्ने, पानीको फोहोरा फाल्ने र जबरजस्ती गर्नेलाई कारबाही गर्ने चेतावनी प्रशासनको छ ।
यसपटकको होली निर्वाचनको समयसँग जोडिएकोमा निर्वाचन आचारसंहिता पालनामा सीडीओ कार्यालयको जोड छ । होलीमा कुनै पनि दल वा उम्मेदवारको निर्वाचन चिह्न, तस्बिर अंकित टिसर्ट, टोपी, गम्छा, ब्याज, मास्क वा लकेट प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ ।
कोही कसैलाई बाधा नपर्ने गरी आफ्नै घरको कम्पाउण्डभित्र परिवार र आफन्तजनसँग मात्र होली मनाउन प्रशासनको आग्रह छ । खुला सडक र सार्वजनिक स्थानमा भेला भई भिडभाड गर्न, मेला महोत्सव आयोजना गर्न, मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न र मादक पदार्थको बिक्री वितरण तथा सेवनमा रोक लगाइएको छ ।
_CYZRPy9yw8-1772177931.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।