काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले झापा क्षेत्र नम्बर ५ का पार्टी उम्मेदवार रञ्जित तामाङलाई फोन गरेका छन् ।
बिहीबार उम्मेदवार तामाङलाई टेलिफोन सम्पर्क गर्दै उनले सामाजिक सञ्जालमा फैलिएको अफवाहलाई नपत्याई सक्रिय भएर लाग्न आग्रह गरेका हुन् ।
प्रचण्डले तामाङलाई भने, ‘बाहिर आएको हल्लाको भ्रममा नपर्नुस् । ढुक्कसँग निर्वाचन अभियानमा लाग्नुस्। दुई जना प्रधानमन्त्रीका उम्मेदवार हराएर आउनुस् मन्त्री बनाउँछु।’
'झापा ५ मा हामी कसैलाई छोड्दैनाैँ । सम्पूर्ण शक्तिका साथ तारा जिताउन लाग्ने हो । सबै अफवाहहरू शतप्रतिशत गलत हुन्', प्रचण्डले तामाङलाई फोनमा भनेका छन् ।
झापा ५ मा एमालेबाट केपी शर्मा ओली र रास्वपाबाट बालेन शाह पनि उम्मेदवार छन् । ओलीलाई जिताउन प्रचण्डले सहमति गरेको चर्चा चलिरहेको थियो ।
प्रचण्डले बुधबार काठमाडौंमा बुद्धिजिवीहरूसँगको छलफलमा विदेशी शक्तिहरूलाई परास्त गर्नका लागि कांग्रेस, एमाले, नेकपा जस्ता शक्तिहरू एकजुट हुनुपर्ने बताएका थिए ।
‘सिंहदरबार जलाउने दलालहरूबाट देश बचाउनुपर्दाखेरी, संविधान, शान्ति प्रक्रिया बचाउनुपर्दा कांग्रेससँग र एमालेसँग पनि कुरा गर्नुपर्नेछ,’ प्रचण्डले भनेका थिए, ‘यी त हाम्रा पुराना सहयात्री हुन् ।वैदेशिक दलालहरूले विरुद्ध जान पनि मिल्नुपर्ने छ ।’
यही अभिव्यक्तिपछि झापा–५, दाङ–२ लगायतका क्षेत्रमा कांग्रेस–एमालेसँग मिल्न लागेको टिप्पणी भएपछि प्रचण्डले तामाङलाई फोन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।