काठमाडौँ – अनलाइन ठगीसम्बन्धी गतिविधिमा संलग्न भएको आरोपमा म्यानमारमा पक्राउ परेका १८ नेपाली नागरिकलाई आममाफी प्रदान गर्ने विषयमा सकारात्मक संकेत प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका दक्षिणपूर्वी एसिया तथा प्रशान्त क्षेत्र महाशाखा प्रमुख प्रकाश अधिकारी ले अवैध रूपमा म्यानमार पुगेका र अनलाइन स्क्यामिङ केन्द्रसँग सम्बन्धित आरोपमा पक्राउ परेका नेपाली नागरिकलाई आममाफी दिन सम्बन्धित पक्ष सकारात्मक देखिएको जानकारी दिएका हुन्।
म्यानमार सरकारले उक्त स्क्यामिङ नेटवर्कमा संलग्न १७ देशका ४९५ जनालाई नियन्त्रणमा लिएर कारबाही गरेको थियो। सोही क्रममा पक्राउ परेका १८ नेपालीलाई एक वर्ष कैद सजाय सुनाइएको थियो। त्यसपछि म्यानमारस्थित नेपाली राजदूतमार्फत त्यहाँका उपविदेशमन्त्री र गृहमन्त्रीसँग भएको भेटघाटमा नेपाली नागरिकलाई रिहा गर्ने विषयमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको अधिकारीले बताए। नेपाल–म्यानमार द्विपक्षीय सम्बन्धको सन्दर्भमा पनि सहयोगी वातावरण देखिएको उनको भनाइ छ।
मन्त्रालयका अनुसार आकर्षक पारिश्रमिकको प्रलोभन देखाई थाइल्याण्ड र म्यानमारतर्फ नेपाली नागरिकलाई भारत लगायत अन्य देश हुँदै लैजाने गिरोह सक्रिय रहेको पाइएको छ। त्यहाँ पुगेपछि उनीहरूलाई सुरक्षा गार्ड, अनलाइन डेटिङ, अनलाइन क्यासिनो, गेमिङ, फिसिङ तथा क्रिप्टोसम्बन्धी ठगी गतिविधिमा संलग्न गराइने गरेको विवरण आएको छ।
उक्त क्षेत्रमा पुगेका नेपालीहरूलाई निश्चित कामको लक्ष्य तोकिने र पूरा गर्न नसके शारीरिक तथा मानसिक यातना, शोषण र दुर्व्यवहार हुने गुनासोहरू पनि मन्त्रालयमा प्राप्त हुने गरेको जनाएको छ। अनलाइन ठगी केन्द्रमा फसेका नेपालीको उद्धार र स्वदेश फिर्ताका लागि सम्बन्धित देशस्थित नेपाली दूतावासमार्फत निरन्तर समन्वय भइरहेको मन्त्रालयले स्पष्ट पारेको छ।
हालसम्म यस्ता केन्द्रबाट ३९२ नेपाली नागरिकको उद्धार गरी नेपाल फर्काइएको तथा थप ३०९ जनालाई स्वदेश ल्याउने प्रक्रिया अघि बढिरहेको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।