एजेन्सी– मङ्गोलियामा ‘जुद’ (मशगम) भनिने अत्यधिक चिसोका कारण गत जनवरी महिनामा २६ हजार ३ सय भन्दा बढी चौपायाको मृत्यु भएको छ।
देशको राष्ट्रिय तथ्याङ्क कार्यालयले दिएको जानकारीअनुसार पश्चिमी प्रान्तहरू उभ्स, बयन–उल्गी र जाभखानका साथै मध्य प्रान्त उभुरखाङ्गाईमा यी चौपायाहरूको मृत्यु भएको हो।
एनएसओले जारी गरेको विज्ञप्तिअनुसार मङ्गोलियाका कुल २१ प्रान्तहरूमध्ये कम्तीमा ११ वटा प्रान्तले हाल ‘जुद’ को सामना गरिरहेका छन्। मङ्गोलियाली भाषामा ‘जुद’ शब्दले यस्तो भीषण हिउँदलाई बुझाउँछ।
जसमा जमिन जम्ने वा बाक्लो हिउँले ढाकिने हुनाले घाँसको अभाव भई ठूलो संख्यामा चौपायाहरूको मृत्यु हुने गर्दछ।
पशुपालन मङ्गोलियाको अर्थतन्त्रको प्रमुख आधारस्तम्भ मध्ये एक हो। यहाँको करिव ४० प्रतिशत फिरन्ते जनसंख्या प्रत्यक्ष रूपमा पशुपालनमा नै निर्भर छ। यद्यपि हरेक वर्ष खेप्नुपर्ने कठोर र लामो हिउँदका कारण मङ्गोलियाका अधिकांश फिरन्ते गोठालाहरूले ठूलो संख्यामा आफ्ना चौपायाहरू गुमाउने गरेका छन्।
एनएसओको तथ्याङ्क अनुसार सन् २०२५ को अन्त्यसम्ममा मङ्गोलियामा ५ करोड ८१ लाख (५८.१ मिलियन) चौपाया रहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।