काठमाडौँ– नेपाली कांग्रेसले बदलिएको राजनीतिक चेतना र नयाँ नेतृत्वको स्पष्ट सोचसहित देशलाई सुशासन र समृद्धिको मार्गमा डोर्याउने सङ्कल्प गरेको छ।
पार्टी सभापति गगनकुमार थापाको नेतृत्वमा संगठन सुदृढीकरण, नीतिगत स्पष्टता र जनविश्वास पुनःस्थापनाको अभियानलाई कांग्रेसले यतिबेला उच्च प्राथमिकतामा राखेको पार्टीको भनाई छ।
यही ऐतिहासिक संक्रमणको घडीलाई मध्यनजर गर्दै कांग्रेसले वैकल्पिक शक्ति निर्माणमा विश्वास राख्ने र समाजका विभिन्न प्रतिष्ठित क्षेत्रमा सक्रिय रहेका व्यक्तित्वहरूलाई पार्टीमा आबद्ध हुन खुला आह्वान गरेको छ।
कांग्रेस प्रवक्ता एवं केन्द्रीय प्रचार प्रसार समितिका संयोजक देवराज चालिसेले एक विज्ञप्ति जारी गर्दै चिकित्सा, शिक्षा, कानुन, उद्योग, सूचना–प्रविधि, कृषि, श्रम तथा नागरिक समाज जस्ता विविध क्षेत्रका अनुभवी र क्षमतावान् व्यक्तिहरूलाई कांग्रेसको लोकतान्त्रिक मञ्चमा जोडिन आग्रह गरेका छन्।
विज्ञप्तिमा उल्लेख भएअनुसार कांग्रेसले अब व्यक्तिको क्षमताभन्दा संस्थागत मूल्य र मान्यतालाई केन्द्रमा राखेर पारदर्शिता, जबाफदेहिता र नीतिमा आधारित राजनीतिलाई मुख्य आधार बनाउने लक्ष्य लिएको छ। देश र लोकतन्त्रको सुदृढीकरणका लागि नयाँ सोच र नवीन ऊर्जा बोकेका अनुभवी व्यक्तित्वहरूको सहभागिता अपरिहार्य रहेको ठहर गर्दै कांग्रेसले राष्ट्र निर्माणको यो साझा अभियानमा सहभागी हुन सबैलाई अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।